Friday, July 1, 2022

अझै पनि रहस्यको पर्दाभित्र लुकेको २१ बर्ष अघिको कहालीलाग्दो दरबार हत्याकाण्ड

आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १० जनाको इहलिला समाप्त भएको दिन थियो त्यो । त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् । कहालीलाग्दो दर्दानाक अतित भनेर स्मरण गर्छन् । राजतन्त्रको जरा काटिएको दिन भनेर बुझ्छन् ।

तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएर लेख नै प्रकाशित गरे, ‘नयाँ कोत पर्वलाई मान्यता नदिऔं’ । देश दुनियाँले राजदरबार हत्याकाण्डबारे अनेक कोणबाट आआफ्नो दृष्टिकोण पेश गरे । चिनिया प्राध्यापक वाङ् चुङ्ले नारायणहिटी घटनाका खलनायक भन्दै आफ्नो किताब ‘नेपालको सुरक्षात्मक रणनीति’ को पृष्ठ १९ मा अमेरिकी र भारतीय गुप्तचर संस्थाको हात रहेको भनेका छन् । काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका थिए ।

राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज र अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे । तत्कालीन शाही नेपाली सेनाको अक्षमताबारे भयंकर आलोचना भयो । राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो । यस्ता रहस्यमय घटनाको विशेषता र प्रवृत्ति नै यस्तो हुँदोरहेछ, जसले शंकाको सुइ जता पनि तेर्साउन मिल्ने बनाउँदो रहेछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए । तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा पहिले बस्न मानेर पनि पछि बसेनन् । एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा र नाम नखुलेको कालो पदार्थ सेवन पश्चात उक्त जघन्य अपराध गरेको किटान गर्यो ।

उक्त दावी आम मान्छे पत्याउन मन्जुर छैनन् । वैज्ञानिक र विश्वसनीय अनुसन्धान नभएको भनेर सर्वत्र आलोचना छ । वस्तुगत, सत्यापनीयता, प्रयोगात्मक र प्रविधियुक्त अध्ययन नभएकोले यसको शुद्धता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सामान्य शङ्का र प्रश्न सामान्य नै मानिन्छ तर आम मान्छेले आजसम्म पत्याएका छैनन् । वैज्ञानिक विधि विधान बिनाको सतही अनुसन्धान प्रतिवेदन भनेका छन् । त्यसैले त्यो निर्मम घटना रहस्यको पर्दाभित्र नै छ ।

सालीन थिए वीरेन्द्र

वीरेन्द्र सालीन थिए, सभ्य थिए र समयको पदचाप अनि परिवर्तनको आकांक्षालाई आत्मसात गर्ने प्रजातान्त्रिक चेत भएका राजा थिए । राजा हुनुको अर्थमा केही पैतृक र वंशानुगत परम्परागत सोचाइ सामान्य अपवादबाहेक वीरेन्द्र उच्चकोटीका राजा हुन् । पञ्चायत व्यवस्थाको जननी पिताका पुत्र हुनुको नाताले त्यस व्यवस्थाका विकृतिको अपयश उनको भागमा पर्छ नै तर व्यक्तिगत रूपमा राजा वीरेन्द्र जनताको कुभलो चिताउने र राजा हुनुको अहम् प्रदर्शन गर्ने राजाको श्रेणीमा पर्दैन थिए । जसबारे उनलाई भोगेका, बुझेका मान्छेहरूको अनुभव छ ।

२०४६ को परिवर्तनपछि नै यो व्यवस्थामा आफू पनि नौलो र तपाईं पनि नौलो मिलेर सिक्दै सिकाउँदै काम गरौं भनेर अन्तरिम व्यवस्थाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई समक्ष भनेको कुरा तत्कालीन मन्त्री परिषदका सदस्यहरूले शायद बिर्सेका छैनन् । आफूलाई ओछ्याएको रातो कार्पेटमा आफू नहिँडी सिनियर नेता तत्कालीन राष्ट्रिय सभा अध्यक्ष बेनी बहादुर कार्कीलाई आदरपूर्वक अघि लगाएर आफू पछि पछि हिँडेको एउटा दृश्यले उनमा रहेको सालीन र सभ्य संस्कारको परिचय दिन्थ्यो । जसको त्यतिबेला नै मनग्गे चर्चा र प्रशंसा भएको थियो ।

राजा वीरेन्द्र २०५२ मा सुरु भएको माओवादी जनयुद्ध राजनीतिक रूपमा हल गर्नुपर्छ, सैनिक परिचालन समस्याको हल होइन भनेर तत्कालीन सरकारको सैनिक परिचालन गर्ने चाहनामा असहयोगी बनेको तथ्य घाम जत्तिकै छर्लंग छ । राजनीतिक द्वन्द्वमा सेना परिचालन गर्न नहुने कुरा सामान्य चरित्र र राजपरम्परा विपरित हो । जनता रिझाएर नै शासन सत्तामा रहन सकिन्छ अन्यथा राजतन्त्र रहन्न भन्ने कुरामा उनको बुझाइ थियो होला भन्ने कुरा उनको शिक्षा र दीक्षाबाट सहजै अनुमान गर्न सकिन्छ । दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा माध्यमिक शिक्षा पुरा गरेका र बेलायतको इटन कलेज त्यसपछि जापान र अमेरिकामा थप अध्ययन गरेका वीरेन्द्र प्रजातान्त्रिक बन्नुमा शिक्षा आर्जनका देशहरू पृष्ठभूमिगत आधार देखिन्छन् ।

महेन्द्र वीर विक्रम शाह र इन्द्रराज्य लक्ष्मी देवीको ज्येष्ठ पुत्रको रूपमा वीरेन्द्रको जन्म २००२ पुस १४ गते काठमाडौंको नारायणहिटीमा भएको थियो । २०२६ सालमा ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग विवाह सुसम्पन्न भएर २०२८ मा दीपेन्द्र, २०३३ मा श्रुति र २०३६ मा निराजन शाहको जन्म भएको थियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहणपछि नेपालको राजगद्दीमा वीरेन्द्र बसेका थिए ।

राजा महेन्द्रद्वारा प्रतिपादित पञ्चायती व्यवस्थामा १८ वर्ष सक्रिय शासन गरेका राजा वीरेन्द्र २०४६ को बहुदलीय व्यवस्था आगमनपछि २०४७ को संविधानमा संवैधानिक राजतन्त्र स्वीकार गरी राजसंस्थालाई संविधानको परिधिभित्र मन्जुर बन्नु सामान्य घटना थिएन । राजतन्त्रको भविष्यको दीर्घायूको लागि उनले लिएको उचित निर्णय संवैधानिक राजा भएर जनताले पस्केको मानो खाएर सम्मानित भएर बस्नु थियो ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले समेत वीरेन्द्रको संवैधानिक राजतन्त्रको स्वीकारोक्तिलाई सहज मानेर जनताले दिएको मानो खाएर बस्ने राजतन्त्र कम्युनिस्ट पार्टीको लागि पनि स्वीकार्य भएको भनेका थिए । यसर्थ पनि राजा वीरेन्द्र सबैले मन पराएका राजा थिए । राजसंस्थासँग सैद्धान्तिक मतभेद हुनु एउटा कुरा तर व्यक्तिगत रूपमा राजा वीरेन्द्र सबैका प्रिय नै थिए भन्दा अन्यथा हुन्न । नेपाली काँग्रेस राजा वीरेन्द्रको पालासम्म आफ्नो घोषित नीतिमा नै संवैधानिक राजतन्त्रको पक्षधर थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: