Friday, July 1, 2022

कर्णालीमा गठबन्धनले काँग्रेसलाई फलिफाप : माओवादीलाई घाटा र रक्षात्मक बन्यो एमाले

सुर्खेत । २०७४ सालको निर्वाचनमा एमालेले कर्णाली प्रदेशमा २७, माओवादी र काँग्रेसले २५/२५ र दुईवटा पालिकामा स्वतन्त्रले नेतृत्व पाएका थिए । यद्यपि यो पटकको निर्वाचनमा दलहरूको शक्ति सन्तुलनमा पूर्ण रूपमा फेरबदल आएको छ । पहिलो शक्ति बनेको एमाले यो पटकको निर्वाचनमा तेस्रो स्थानमा थन्किनु परेको छ । माओवादीले आफूलाई दोस्रो शक्तिको रूपमा सोही स्थानमा कायम राख्न सफल भएको छ । यसअघि तेस्रो बनेको काँग्रेस भने यो पटक पहिलो राजनीतिक शक्तिको रूपमा उदाएको छ । कर्णालीका सबै स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ । जसमा  काँग्रेसले ३२ पालिका, माओवादी केन्द्रले २३ पालिकाको नेतृत्व पाएको छ । एमालेले भने जम्मा १५ पालिकामा उपस्थिति जनाएको छ । यो पटक माओवादीले दुई वटा पालिका गुमाउनुपर्‍यो भने एमालेले १२ वटा पालिका गुमाउनुपरेको छ । यस्तै एकीकृत समाजवादीले चार वटामा विजयी प्राप्त गरेको छ भने पाँच वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।

समाजवादीले विजयी प्राप्त गरेका चार पालिका मध्ये डोल्पाका दुई पालिकामा निर्विरोध भएका थिए । बाँकी दुई वटामा निर्वाचनमार्फत समाजवादीका उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनको माध्यमबाट विजयी भएका जनप्रतिनिधिहरू गठबन्धनको बलमा जितेका देखिन्छ भने कालिकोटको खाँडाचक्र नगरपालिकामा समाजवादीकै नेता कमल शाहीले स्वतन्त्रबाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका जसी प्रसाद पाण्डेलाई पराजित गरे । पाण्डे निवर्तमान  मेयर हुन् ।

दैलेखमा एमालेले ०७४ मा जितेका आठबीस र नारायण नगरपालिका बाहेक सबै पालिका गुमाएको छ । ०७४ मा हुम्लामा १, मुगुमा १, जुम्लामा १, कालीकोटमा ३ पालिका जितेको थियो । यो पटक एमालेले सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका ३ र सल्यानका २ पालिकामा बाहेक कुनै पनि जिल्लाका पालिकामा आफ्नो स्थान ओगट्न सकेन  ।

गत चैत्र २७ गते एमाले अध्यक्ष केपी ओलीले एकै दिन दैलेखको दुल्लु, जुम्लाको सिंजा र कालिकोटमा एमालेको चुनावी सभालाई सम्बोधन गरेका थिए । ओली उपस्थित सभामा मान्छेको उपस्थिति बाक्लो थियो । ओलीले त्यही भीडलाई देखाउँदै जनताको एमालेप्रतिको आकर्षण भनेर सामाजिक सञ्जालमा निकै प्रचार गरिएको थियो । ओलीले एमालेप्रतिको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको भन्दै व्यङ्गे समेत गर्न भ्याएका थिए । यति मात्र भनेका थिएन, ओलीले सिंजाको विकार र दुल्लुलाई स्मार्ट सिटी बनाउने जिम्मा समेत लिएका थिए । तर नतिजामा भने ठिक उल्टो भयो । ओलीले जहाँ, जहाँ पुगेर भाषण गरेका थिए । त्यही नै एमाले शून्य भएको छ । ओलीले सम्बोधन गरेको दैलेखको दुल्लु नगरपालिकामा एमालेका रुद्र शाही पराजित भएका छन् । कालिकोट र जुम्लामा एमालेले कुनै पनि कालिकामा जित्न सकेन ।

सत्तारुढ गठबन्धनले कर्णालीमा काँग्रेसलाई फलिफाप भए पनि माओवादीलाई भने घाटा भएको निष्कर्ष छ । रुकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरकोटको १, हुम्लाका ३, कालिकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व  यो पटक पाएको छ । यद्यपि आफ्नै आधार इलाका मानिने रुकुम पश्चिममा काँग्रेसका कारण दुई पालिका गुमाएको छ । ०७४मा रुकुमका ६ वटै पालिकामा वर्चश्व जमाएको माओवादीले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका गुमाएको छ । बाँफिकोटमा काँग्रेस जनककुमार बाँठाले चार हजार ४५५ मत ल्याएर विजयी भएका छन् ।  माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले चार हजार ४२४ मत मात्र प्राप्त गरे । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भए । केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् । यहाँ काँग्रेसले गठबन्धनको निर्णय विपरीत एमालेसँग तालमेल गरेको थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: