Wednesday, May 18, 2022

प्रशिक्षकसँग मनमुटावका कारण १० प्रमुख खेलाडीले प्रशिक्षण छाडे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेका छन् । रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका थिए । ती सबै खेलाडी त्यसअघि टिम बैठकमा भने सामेल थिए र त्यसमा कुनै प्रकारको असन्तुष्टिको छनक नदेखाएको बुझिएको छ । रोहित यसअघि नै चोटका कारण अभ्यासमा नियमित छैनन् । होटल छाडेर जाने प्रमुख खेलाडीमा रोहितसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर रहेका छन् । तिनको स्थानमा प्रशिक्षक अल्मुताइरीले बुधबारको प्रशिक्षणमा नयाँ खेलाडी बोलाइसकेका छन् ।

नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले १० खेलाडीले बन्द प्रशिक्षण छाडेको पुष्टि गर्दै के कस्तो कारणले उनीहरूले त्यस्तो गरेका हुन् भनेर प्रस्ट नभएको बताए । टिमसँगै होटलमा रहेका व्यवस्थापन समूहका कृष्ण मानन्धरले खेलाडी पहिलो पटक यसरी बाहिरिएको जानकारी दिएका हुन् ।

उपाध्यक्षका अनुसार उनले प्रशिक्षण छाडेर गएका खेलाडीलाई सम्पर्क गर्न खोजे पनि त्यसमा सफलता मिलेको छैन । उनले भने, ‘मैले सबै खेलाडीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छु, तर कोही पनि मेरो सम्पर्कमा आउन चाहेका छैनन् । मैले फोन गरे पनि उनीहरूले उठाइरहेका छैनन् । उनीहरूले राष्ट्रिय टिमको सामाजिक संजालको समूह पनि छाडेका छन् । त्यसैले उनीहरूले किन प्रशिक्षण छाडे भनेर भन्न सकेको छैन ।’

उनले थपे, ‘मंगलबार रातिको टिम बैठकमा निकै सौहार्दपूर्ण वातावरण रहेको थियो ।’ एसियाकप तेस्रो चरणको छनोटका लागि नेपाली राष्ट्रिय टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । त्यस छनोट अगाडि नेपालले अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेल्नेछ । त्यसअघि नेपाली फुटबल खेलाडी प्रशिक्षक अल्मुताइरीको समर्थनमा रहँदै आएका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: