Wednesday, May 18, 2022

सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने गोप्य तयारी, सभामुख हटाउनु पर्ने ओलीको शर्त

काठमाडौं । यति बेला सत्तागठबन्धनमा अमेरिकी अनुदान सहयोग एमसीसीले नेपाली कांग्रेस र एमसीसी इतर पक्षधर राजनीतिक पार्टीहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चालगायतका पार्टीहरुको बीचमा तिक्तता बढेको छ । तिक्तता बढेको मात्र होईन, प्रधानमन्त्री देउवाले एमसीसी पास नगरे जो सँग पनि गठबन्धन बनाउने धम्की समेत दिएका छन् । सत्ता गठबन्धका लागि एमसीसी घाँडो बनेको छ । माओवादीलगायतका राजनीतिक दलहरु एमसीसी पास गर्न नहुने अडान लिएर बसेपछि रुष्ट बनेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग गोप्य रुपमा २४ पुसमा गठबन्धनको बनाउन ओली निवास बालकोटमै गएको खुलासा भएको छ ।

ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब एक घण्टा चलेको थियो । प्रम देउवाले नयाँ गठबन्धनको प्रस्ताव राखेपछि प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको हो ।

प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् । तर ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए सघाउन वचन दिएका कारण उनले फेरि एमसीसी अनुमोदन गर्ने प्रयत्न थालेका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।

त्यो छलफलमा पनि उनले एमसीसी अगाडि बढाउने र साथ नदिए सत्ता गठबन्धन टुट्न सक्ने बताएका थिए । कांग्रेस र एमाले मिल्दा पनि एमसीसीलाई संसदमा अगाडि बढाउन सभामुख बाधक बन्न सक्छन् । अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदमा लैजान सहयोग नगरेको ओलीले बताएका थिए । संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले राजीनामा दिए । तत्कालीन नेकपाका अध्यक्ष र तत्कालिन प्रधानमन्त्री ओली आफू निकट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्थे, तर प्रचण्डको जोडबलमा अग्नि सापकोटा सभामुख बने ।

पछिल्लो पटक एमाले विभाजनका लागि भूमिका खेलेको आरोप लगाउँदै ओली सभामुख सापकोटासँग रुष्ट छन् । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचारलाई रोकेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । उसले १४ जनालाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । अहिले एमसीसी पास गर्न कांग्रेसलाई साथ दिँदा सापकोटालाई सभामुखबाट पनि हटाउन सकियो भने कांग्रेस र माओवादी केन्द्रको दुरी बढ्ने मात्र होइन, इबी साँध्न पनि पाइने बुझेर नै एमाले अध्यक्ष ओलीले सापकोटालाई हटाउने प्रस्ताव गरेको हुनसक्ने कांग्रेस नेताहरुको बुझाइ छ । तर सभामुख हटाउन आवश्यक पर्ने दुई तिहाई कांग्रेस र एमालेसँग छैन ।

संंविधानको धारा ९१ मँ सभामुख र उपसभामुख प्रतिनिधि सभाको सदस्य नरहेमा, सभामुखले लिखित राजीनामा दिएमा र सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा मात्र सभामुख पद रिक्त रहन्छ । तर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले साथ नदिनासाथ प्रतिनिधिसभामा दुई तिहाई पुग्दैन । साथै कांग्रेस पनि सभामुख हटाएर प्रचण्डसँग दुश्मनी मोल्ने पक्षमा देखिएको छैन । यही फेब्रुअरी महिनाभित्र एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने दबाव पनि प्रधानमन्त्री देउवामाथि छ ।

प्रतिनिधिसभामा कुन दलको कति सांसद ?

नेकपा एमाले – ९८

नेपाली कांग्रेस – ६३

नेकपा माआवादी केन्द्र – ४९

नेकपा एकीकृत समाजवादी– २३

जनता समाजवादी पार्टी – २१

लोकतान्त्रिक समाजवादी पार्टी – १३

राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा – १/१

स्वतन्त्र – १

जम्मा : २७१

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: