Friday, January 28, 2022

नागरिक उड्डयन कार्यालयको जग्गा व्यक्तिको कब्जामा

पोखरा । पोखरा विमानस्थलको पुछारतर्फ मुस्ताङ चोकको एउटा ठूलो भवनमा गण्डकी प्रदेश सरकारअन्तर्गतका दुई निकाय छन् । एउटा गण्डकी विश्वविद्यालय र अर्को प्रदेश लोकसेवा आयोग । पछिल्लो समय आफ्नो काममा गति लिएका दुवै सरकारी निकायका कर्मचारी र सेवाग्राहीले समेत सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने अवस्था छ ।

पोखरा नागरिक उड्डयन कार्यालयको उक्त भवन भाडामा लिएर कार्यालय बसेका हुन् । सँगैको पार्दी माविको गेटैअगाडि सिद्धार्थ राजमार्ग र ड्यामसाइडतर्फ जाने सडकको बीचको ‘प्राइम लोकेसन’ मा तीनकुने आकारमा झन्डै २ रोपनी जग्गा यी दुवै निकायले पार्किङका लागि प्रयोग गर्न भन्दै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिक उड्डयन कार्यालय पोखरालाई पत्र पठाइ जग्गा भाडामा दिन भन्यो । उक्त पत्र अहिले संघीय मन्त्रिपरिषद्मा पुगिसकेको छ । उड्डयन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच जग्गा भाडामा दिने सम्झौता प्रक्रिया अघि बढिरहँदा उक्त जग्गा भने अनधिकृत रुपमा व्यक्तिको कब्जामा परिसकेको छ ।

पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले उक्त जग्गा कार्यालयको नाममा रहेको, कसैलाई पनि भाडामा नलगाएको तर अहिले केही व्यक्तिले कब्जा गरेको बताए । ‘जग्गा गण्डकी प्रदेश सरकारलाई भाडामा दिने प्रक्रिया चलिरहेको छ,’ उनले भने, ‘तर जग्गा अनधिकृत रूपमा अतिक्रमणमा परेको छ । यसलाई केही समयमै हटाइनेछ ।’ पोखरा–१७ मा पर्ने जग्गा उड्डयन कार्यालयको नाममा लालपूर्जासमेत छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: