Friday, January 28, 2022

नेपालको निर्यातले नयाँ रेकर्ड बनायो, ५ महिनामा एक खर्ब बढी निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो ५ महिनामै निर्यात व्यापारले एक खर्बको आंकडा पार गर्दै कीर्तिमान राखेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिना (साउन–मंसिर) सम्म कुल १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान नेपालबाट विदेशमा निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०५.६१ प्रतिशत बढी हो ।

यसअघि गत आवको निर्यात यो अवधिमा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको भएको थियो । गत आर्थिक वर्ष २०७७/७८ भर कुल १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो । यो व्यापार नै नेपालको इतिहासमा सबैभन्दा ठूलो निर्यातको आंकडा थियो । चालु आवमा भने निर्यातले यसअघिका वर्षहरुका सबै रेकर्ड तोड्ने देखिएको छ ।

निर्यात व्यापारले छलाङ मारेको चालु आवमा आयातको वृद्धिदर समेत कम भने छैन । चालु आवको पहिलो ५ महिनामा वस्तु आयात ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो । गत आवमा यो अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात र निर्यात दुवैको आकार बढ्दा यसले वैदेशिक व्यापारको आकार समेत उल्लेख्य बढाएको छ । भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।

नेपालमा निर्यातको वृद्धिदर दोब्बर देखिएपनि आयातको तुलनामा हिस्सा भने कम छ । जसले गर्दा नेपालको वैदेशिक व्यापार भने घाटामा छ । यस्तो घाटा ५ महिनामा ७ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको छ । नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.९३ प्रतिशत र आयातको हिस्सा ८९.०७ प्रतिशत रहेको छ । यस अवधिमा भएको व्यापार घाटा गत आवको यसै अवधिको तुलनामा ५४.७० प्रतिशत बढी हो । गत आवमा मंसिर मसान्तसम्म ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

नेपालमा कुल निर्यातले पेट्रोलियम पदार्थको आयात मात्र पनि धान्न नसक्ने अवस्था छ । तथ्यांक अनुसार मंसिरसम्म १ खर्ब २२ अर्ब १९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो कुल वस्तु निर्यातको तुलनामा २० अर्ब रुपैयाँ बढी हो । ५ महिनामा फलाम तथा स्टिलको आयात ७० अर्ब ४४ करोड रुपैयाँको भएको छ । यस अवधिमा ५३ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।

वनस्पति तेल तथा घिउको आयात ६९ अर्ब ८४ करोड रुपैयाँको भएको छ । निर्यातमा समेत सोही उत्पादनको हिस्सा बढी छ । यस्तो वस्तुको निर्यात ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ बराबरको रहेको छ । ५ महिनामै १९ अर्ब ५७ करोडको तरकारीजन्य आयात हुँदा निर्यात भने मात्र ४२ करोड १४ लाख रुपैयाँको भएको छ । यस अवधिमा विद्युतीय उपकरण तथा त्यसको पार्ट्स आयातमा मात्र ५७ अर्ब २५ करोड रुपैयाँ विदेशिएको छ ।

तथ्यांक अनुसार भारतमा नेपालबाट ८४ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ । यसले भारतसँग कुल ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखाएको छ । चीनबाट यस अवधिमा १ खर्ब २२ अर्बको सामान नेपाल आएको छ । नेपालबाट भने ३८ करोड १६ लाख रुपैयाँ बराबरको सामान मात्र चीन गएको छ । अमेरिकाबाट १८ अर्ब ८८ करोडको सामान आयात हुँदा ७ अर्ब ३३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतपछि बढी निर्यात हुने मुलुक अमेरिका हो । नेपालको वैदेशिक व्यापार १४४ भन्दा बढी मुलुकसँग रहेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: