Friday, January 21, 2022

प्रदेश २ मा देउवा र विमलेन्द्र निधि समूहको बीचमा कडा टक्कर

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को प्रथम अधिवेशनमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि समूहबीच निर्वाचन हुने भएको छ । प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडल, महासचिव शशांक कोइरालालगायतका समूह कमजोर रहेको र अहिलेसम्म ती समूहबाट औपचारिक रूपमा कसैले उम्मेदवारी घोषणा नगरेका कारण देउवा र निधि समूहबीच नै निर्वाचन हुने कांग्रेसका नेताहरूको भनाइ छ।

सुरुमा देउवा समूहबाटै प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामरोज यादव, महोत्तरी सभापति महेन्द्रकुमार राय, सप्तरी सभापति दिनेश यादव र रौतहट सभापति कृष्णा यादव आकांक्षी थिए । तर महाधिवेशनमा देउवा र निधि पार्टी सभापतिमा भिड्ने अवस्था देखिएपछि प्रदेशमा पनि यी दुवै समूह अलगअलग भएका हुन् । केही दिनअघि उपसभापति निधि समूहबाट प्रदेश सभापतिमा प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका थिए।

शुक्रबार देउवा समूहले पत्रकार सम्मेलन गरेर आफ्ना अलग उम्मेदवारको रूपमा रौतहटका सभापति कृष्णा यादवलाई प्रदेश सभापतिमा उम्मेदवार बनाएको छ। निधि गुट अलग भएपछि देउवा गुटमा रहेका तीनजना महेन्द्रकुमार राय, दिनेश यादव र कृष्णा यादवबीच कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको रोहबरमा शुक्रबार बिहान साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो। कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार छलफलमा पार्टीका हाइकमान्डले तोकिएको व्यक्ति नै सभापतिमा उम्मेदवारी दिने तीनैजनाबीच सहमति भएको छ । पार्टीका हाइकमान्ड अर्थात शेरबहादुर देउवाले प्रदेश २ को सभापतिमा कृष्णा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको महोत्तरी सभापति रायले बताए । यसैबीच, जनकपुरधामको गोपालधर्मशालामा जारी कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ। शुक्रबारको लागि निर्धारण गरिएको मनोनयनपत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिस्ट्रेसन संयोजक विशेश्वर यादवले जनाए।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: