Friday, January 28, 2022

एमाले पदाधिकारीमा ३ पूर्वमाओवादी नेता, ओलीको किकले घाईते बने रावल र भुसाल

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा १९ पदाधिकारीमध्ये तीन जना पूर्वमाओवादी पृष्ठभूमिका नेता विजयी बने । रामबहादुर थापा बादल उपाध्यक्ष, लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आएका नेताहरु हुन् । २८ फागुन २०७७ मा ओलीले बादलसहित २३ जनालाई एकपक्षीय रुपमा एमाले केन्द्रीय कमिटीमा मनोनित गरे ।

त्यो दिन भएका सबै निर्णय खारेज गर्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्‍यो, तर ओलीले ‘डढेलो लागेको बेला पलाएको पालुवा’ भन्दै उनीहरुलाई संरक्षण गरिरहे । २७ असार २०७८ मा १० बुँदे सहमति हुँदा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई असुरक्षित महसुस हुन दिएनन् । कतिसम्म भने १० बुँदेअनुसार भीम रावलले पाउने पर्ने सूदूरपश्चिम इन्चार्जमा पनि लेखराज भट्टलाई कायमै राखे । एमालेले दशौं महाधिवेशन गर्दै गर्दा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुको माग थियो, तीन पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक उपस्थिति हुनुपर्छ ।

नभन्दै ओलीले तीन पदाधिकारी र यसअघि केन्द्रीय सदस्य भएका सबैलाई निरन्तरता दिने प्रस्ताव ल्याए । मतदान हुँदा पनि उनीहरुलाई जिताएका छन् । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् । ६ उपाध्यक्षका लागि सात जना प्रतिस्पर्धामा थिए, जसमा १७६८ मतका साथ छैटौं नम्बरमा रहेर बादल निर्वाचित भए । सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी भए । ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भए ।

जबकी पूर्वमाओवादी नेताहरु भएकै पदहरुमा ओलीसँग असन्तुष्ट नेताहरुले उम्मेदवारी दिँदा अनेक अनुमान गरिएको थियो । ‘कतै हामीलाई हराउन लागिएको त होइन भन्ने प्रश्न पनि कतिपय माओवादी पृष्ठभूमिका प्रतिनिधिहरुले गरेका थिए । तर, परिणाम त्यस्तो भएन । एमालेका वैचारिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भूसाललाई पराजित गरेर बादल उपाध्यक्ष निर्वाचित भए । सचिवमा त रघुवीर महासेठभन्दा धेरै मत लेखराज भट्ट र टोपबहादुर रायमाझीले पाएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: