Tuesday, December 7, 2021

एमाले र कांग्रेसका सांसद बनेका चौधरीको ट्याक्स हेभन मुलुकमा अवैध सम्पत्ति

कृष्ण आचार्य र रामु सापकोटा, खोज पत्रकारिता केन्द्र

काठमाडौं । अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ । नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य फेला परेको छ ।

अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता छ । ११७ देशका ६०० भन्दा बढी पत्रकार सहभागी भई १७ असोज, आइतबार राति सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामक कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छन् ।

चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका ती कम्पनीहरुमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सले देखाउँछ । अर्कोतर्फ चौधरीका विदेशी साझेदार तथा नेपालमा विदेशी लगानी भित्र्याउने अब्दुल अवाल मिन्टु बाङ्लादेशमा मुद्रा निर्मलिकरण (मनी लाउण्डरिङ) को आशंकामा अनुसन्धानमा तानिएको समेत विवरणहरूले देखाउँछन् । ‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले प्रयोग गरेको नेपालको कानूनी छिद्र, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदार व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ ।

प्यान्डोरा लिक्स अनुसार, विनोद चौधरीकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाणको नाममा समेत ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी छ । सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी भेटिएको छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ । ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘वासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ । नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ । तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ । त्यही रकमबाट चौधरीले विदेशमा लगानी गरेको हुनसक्ने ठानिएको छ । नेपालबाट लगिएको रकमलाई चौधरीले विदेशमा बस्ने छोराहरूले कमाएको हो भनेर पुष्टि गर्न खोजेका छन् । जुन गलत हो । यस आधारमा पनि चौधरी परिवारले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा गरेको छ ।

अर्कोतर्फ दुई छोरा (जो गैरआवासीय हैसियतमा छन्) बाहेक विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममा विदेशमा भएको लगानी गैरकानूनी हो । किनभने ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ ले नेपाल राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन । ‘प्यान्डोरा पेपर्स’ ले खुलासा गरेका केही कम्पनीमा लगानी गर्ने गरी राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ ।

“विदेशीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित सिनोभेसन कम्पनीमा ५० हजार थान कित्ता शेयर गिफ्ट दिएको हुनाले त्यसमा आफ्नो नाम रहने गरी विनोदले अनुमति लिएका छन्” राष्ट्र बैंक स्रोत भन्छ, “यस बाहेक अन्य कुनै पनि कम्पनीमा लगानी गर्न विनोद, निर्वाण र सारिकाले अनुमति लिएको विवरण हामीले फेला पारेनौं । हाम्रो खोजमा पनि सिनोभेसनका लागि अनुमति लिएको बाहेक अरू कुनै पनि विदेशी कम्पनीमा लगानी गर्न विनोदले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन ।

नेपालको कानूनी दृष्टिकोणले मात्रै हैन विश्वव्यापी परिपेक्षमै चौधरीको यो काम शंकास्पद हो । सम्पत्तिको स्रोत देखाउनु नपर्ने, कम्पनी खडा गर्न सजिलो मानिने, कर छल्न अनुकूल मानिने ‘ट्याक्स हेभन’ मुलुकमा चौधरीले गरेको जस्तै अफसोर लगानीमाथि विश्वव्यापी रूपमै प्रश्न उठ्दै आएको छ । किनभने, ‘यसले छायाँ अर्थव्यवस्थालाई देखाउँछ । त्यो (अफशोर) एक छायाँ संसार (स्याडो वर्ल्ड) हो । यो एउटा त्यस्तो संसार हो जसले पहिलेदेखि नै धनीहरूलाई समृद्ध बनाइरहेको छ,’ अष्टे«लियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनसँगको अन्तर्वार्तामा आईसीआईजेका निर्देशक जेरार्ड रायलले भनेका छन्, ‘सेल कम्पनीहरू अफशोर संसारमा अन्तर्राष्ट्रिय रूपमा मनी लाउण्ड्रिङ गर्ने जस्ता अपराधका अनिवार्य साधनहरू हुन् । अफशोर संसार अपराधीहरूका लागि शक्ति हो । किनभने उनीहरूलाई दुई वा दुईभन्दा बढी फरक तहहरूमा अफशोर सेल कम्पनी मार्फत एउटा अपराध लुकाउन सकिन्छ भन्ने कुरा थाहा छ ।’

पछिल्लो एक दशक यता ट्याक्स हेभन मुलुकको लगानीलाई विश्वव्यापी रूपमा शंकास्पद मान्न थालिएको छ । चौधरीको विश्वव्यापी व्यापारको बीजारोपण पनि त्यस्तै मुलुकहरूबाट शुरू भएको प्राप्त विवरणहरूले देखाउँछन् । तर चौधरीले अफशोर कारोबारलाई समेत आफ्नो मात्रै नभएर मुलुककै लागि गौरवको रूपमा अथ्र्याउँदै आएका छन् । ‘नेपालमा कोडाकदेखि डाबरसम्मले उत्पादन गर्न सक्छन् भने हामीले पनि बाहिर गर्न सक्नुपर्दछ । नेपालको पनि एउटा बहुराष्ट्रिय कम्पनी बन्नुपर्दछ । त्यो नेपाल र नेपालीको स्वाभिमानको प्रतीक बन्न सक्नुपर्दछ । यसमा लघुताभास राख्न आवश्यक छैन भन्ने मानसिकताको जन्म हो।’ ३ फेब्रुअरी, २०२० नेपाली टेलिभिजन च्यानल एपिवानसँगको अन्तर्वार्तामा चौधरीले भनेका छन् ।

यही अन्तर्वार्तामा खुलाइए अनुसार चौधरी परिवारको ३ फेब्रुअरी २०२० सम्ममा ५० देशमा १२२ कम्पनीहरूमा लगानी छ । नेपालमा चौधरी ग्रुप र सीजी कर्प ग्लोबल नामबाट स्थापना गरिएका उनका विश्वभर विभिन्न ७६ वटा ब्राण्ड छन् । उनको विदेशस्थित पूँजी परिचालनको विषयमा सञ्चारमाध्यम तथा आम नागरिक तहमा प्रश्न उठे पनि राज्यका निकायहरू भने मौन देखिन्छन् ।

विगतमा पञ्चायत तथा राजदरबार निकटस्थ मानिने चौधरी गणतन्त्रकालमा पनि दुई प्रभावशाली पार्टीबाट सांसद भइसके । २०६४ सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नेकपा एमालेले समानुपातिक तर्फबाट सांसद बनाएको थियो । पछि, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको सँघारमै नेपाली कांग्रेसमा प्रवेश गरेका चौधरी अहिले सोही पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य छन् । उनी कांग्रेसको ‘लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति’को संयोजक समेत हुन् । कांग्रेसले चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ समेत शुरू गरेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: