Tuesday, December 7, 2021

कोरोना छल्न गाउँ गएकाहरुमा कोरोना संक्रमण देखिन थाल्यो

ओखलढुङ्गा : कोरोना छल्न गाउँ गएकाहरुमा कोरोना संक्रमण देखिन थालेको छ । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट ओखलढुङ्गा फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो । सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् ।

शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ । तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । खिजिदेम्बाका अर्का एक पुरुषको काठमाडौँमा उपचार भइरहेको र अरु सङ्क्रमितको अवस्था सामान्य रहेकाले उनीहरू होमआइसोलेशनमा छन् । जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: