Wednesday, December 8, 2021

विभाजनको संघारमा जसपा, ३२ सांसद मध्ये १८ भट्टराई र यादवको पक्षमा

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल पार्टी एकताको एक बर्ष नपुग्दै विभाजनको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर ओलीलाई बर्खास्त गर्ने वा ओली सरकारमा सहभागी हुने भन्ने बिषयमा मतभेद चर्किएपछि पार्टी नै विभाजनको संघारमा पुगेको हो । लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकारमा जसपाका महन्त ठाकुर र राजेन्द्र महतो निकटका ४ सांसदहरु सहभागी भएपछि जसपाले उनीहरुलाई कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको ठानिन्छ । सरकारमा सहभागी मन्त्रीहरुको पद खोसिएपछि महन्त ठाकुर आफै निर्वाचन आयोगमा पनि पुगेका थिए । ओली प्रतिगमनकारी भएकाले सांसदहरु प्रतिगमनको मतियार बन्न नहुने भन्दै जसपाले उनीहरुलाई कारबाही गरेको थियो । ओली सरकारमा सहभागी हुने वा नहुने भन्ने बिषयमा चर्को विवाद चलिरहेको बेला वैशाख १४ गते जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भने ओली विरुद्धको अविश्वासको प्रस्तावलाई सघाउने निर्णय गरेपछि पूर्व जनतापार्टीका नेताहरु भने रुष्ट बनेका छन् । कार्यकारिणी समितिको बैठकका लागि दुईवटा कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा अनुशासनसम्बन्धी कारवाही बारे र दोस्रो नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव ।

कार्यकारणी बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिगमनकारी काम गरेको हुनाले बहिर्गमन आवश्यक रहेको र पार्टीमा सर्वसम्मतिले निर्णय हुन नसके भने बहुमतको निर्णयबाट ओलीलाई हटाउने गरी तयारी गरेको थियो । वैशाख १४ गते बसेको जसपा नेपालको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठकको माग गरेका थिए । तर कोरोनाको कारण देखाउँदै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक बसाउन मानेका थिएनन् । पदाधिकारी बैठकबाट महन्थ ठाकुर र राजेन्द्र महतो उठेर गइसकेपछि यादवले कार्यकारिणी समितिको बैठक बोलाएका थिए । सो बैठकमा अधिकांश उनकै पक्षका नेताहरुको उपस्थिति थियो भने महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र रमेश यादवको उपस्थिति थियो । ५१ कार्यकारिणी समिति सदस्यमध्ये २६ जनाको उपस्थितिमा ती दुईवटा निर्णयहरु भएको हो ।

लुम्बिनी प्रदेशको घटनाले जसपा विभाजनको संघारमा
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार भएका छन् । उपेन्द्र यादव पक्षका एक नेताले भने, ‘ओलीको प्रतिगामी कदम विरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने वित्तिकै हस्ताक्षर गर्नेछन् । जसपा नेपालमा पूर्वसमाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना उपेन्द्र यादवको पक्षमा रहेको ती नेताले दावी गरेको छ । स्रोतका अनुसार उपेन्द्र यादवले १८ जनासँग हस्ताक्षर गराएर पनि राखिसकेका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: