Monday, December 6, 2021

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, खाद्य र स्वास्थ्य सामग्रीका पसल मात्र खोल्न पाईने

काठमाडौं : कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेपनि मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय सरकारले गरेको थियो । योसँगै आजबाट १५ दिन उपत्यकामा निषेधाज्ञा हुनेछ । निषेधाज्ञाको समयमा खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द हुनेछन् । खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न पाउनेछन् । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायत ढुवानीका साधन पनि चल्न पाउनेछन् । सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: