Wednesday, December 8, 2021

भारतको इंग्ल्यान्डमाथि ८ रनको रोमान्चक जित

काठमाडौं : भारतले चौथो टि २० खेलमा इंग्ल्यान्डमाथि ८ रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि २० आई सिरिज २ २ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । डेब्यू इनिङ खेलेका सूर्य कुमार यादवले ३१ बलमा ६ चौका र ३ छक्का सहित ५७ रनको उत्कृष्ट ब्याटिङ गरे । चौथो ओभरको पाँचौं बलमा करिअरको पहिलो टि२० आई बल सामना गरेका सूर्यले जोफ्रा आर्चरलाई फाइन लेगमा छक्का प्रहार गर्दै इनिङको उत्कृष्ट सुरुवात गरेका थिए । सूर्यले १२ औं ओभरको अन्तिम बलमा स्पिनर आदिल राशिदलाई चौका प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । साम करनको १४ औं ओभरको दोस्रो बलमा सूर्य डेविड मलानबाट उत्कृष्ट क्याच आउटको शिकार बन्न पुगे । सूर्यको आउट दिन थर्ड एम्पायरलाई समेत केहि समय लागेको थियो ।

ओपनर रोहित शर्मालाई जोफ्रा आर्चरले चौथो ओभरको चौथो बलमा १२ रनमा कट एण्ड बोल्ड आउट गरेपछि सूर्य ब्याटिङको लागि मैदान छिरेका थिए । डेब्यू दोस्रो टि२० खेलमा गरेपनि ब्याटिङ गर्ने मौका पाएका थिएनन् । आठौं ओभरको चौथो बलमा बेन स्टोक्सले लोकेश राहुललाई १४ रनमा जोफ्राबाट क्याच आउट गराए । राुहलले १७ बलमा २ चौका प्रहार गरे । लगत्तै नवौं ओभरको चौथो बलमा स्पिनर आदिल राशिदले जस बटलरबाट १ रनमा स्टम्पिङ आउट गराए ।

श्रेयस ऐरले १८ बलमा ५ चौका र १ छक्का सहित ३७ रनको इनिङ खेले । जोफ्रा आर्चरले ऋषभ पन्तलाई ३० रनमा बोल्ड आउट गरे । पन्तले २३ बलमा ४ चौका प्रहार गरे । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । साम करन, बेन स्टोक्स, मार्कवुड र आदिल राशिदले १–१ विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

इंग्ल्यान्ड अन्तिम समयतिर चुकेको थियो । एक समय अन्तिम २४ बलमा ४६ रन आवश्यक हुँदा इंग्ल्यान्डको सहज जितको सम्भावना देखिएको थियो । उक्त समय इंग्ल्यान्ड १६ ओभरमा १४०–४ को बलियो अवस्थामा थियो । बेन स्टोक्सले २३ बलमा ४ चौका र ३ छक्का सहित ४६ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । भुवनेश्वर कुमारको तेस्रो ओभरको पाँचौं बलमा जस बटलर ठूलो सट खेल्ने धुनमा ९ रनमा राहुल चहरबाट समातिन पुगे । राहुललेनै डेविड मलानलाई १४ रनमा बोल्ड आउट गरे । जेयस रोय २७ बलमा ६ चौका र १ छक्का सहित ४० रनमा क्याच आउट भए । रोयलाई हार्दिक पान्ड्याले नवौं ओभरको पाँचौं बलमा सूर्य कुमार यादवबाट क्याच आउट गराए ।

जोनी बेयरस्टो १९ बलमा २ चौका र १ छक्का सहित २५ रनमा आउट भए । १७ औं ओभरको पहिलो बलमा शार्दूल ठाकुरले स्टोक्सलाई सूर्यबाट क्याच आउट आउट गराए । लगत्तै दोस्रो बलमा मोर्गनलाई ४ रनमा वासिन्टन सुन्दरबाट क्याच आउट गराएपछि भारत खेलमा फर्किएको थियो । भारतका तीव्र गतिका बलर शार्दूल ठाकुरले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट रह्यो । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा २३ रन आवश्यक थियो । पहिलो बलमा शार्दूल ठाकुरले एक रन दिँदा दोस्रो बलमा चौका र तेस्रो बलमा जोफ्रा आर्चरले छक्का प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए । चौथो बलमा लगातार दुई वाइड फालेपछि ३ बलमा इंग्ल्यान्डलाई १० रन चाहिँएको थियो । चौथो बलमा आर्चरले एक रन बटुले । पाँचौं बलमा क्रिस जोर्डन हार्दिक पान्ड्याबाट १२ रनमा क्याच आउट भएपछि इंग्ल्यान्डको जितको सम्भावना टाढिएको थियो । अन्तिम बल ठाकुरले डट राख्दै खेल जिताएका थिए ।

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: